स्मार्ट लाइसेन्स कहिले आउंछ त ?

स्मार्ट लाइसेन्सको लागि एकान्तकुनाको यातायात कार्यालय धाएको पनि आज सात महिना बितिसकेछ, हरेक पटक जाँदा उही जवाफ – “तपाईको लाइसेन्स आएकै छैन, भोलि आउनुस्, पर्सि आउनुस् आदि इत्यादी, यस्तै यस्तै जवाफ लिएर निराश भएर सातौं पटक पनि फर्किनु पर्यो l कहिले सफ्टवेयर उड्यो भन्छन्, कहिले सरवर डाउन भयो भन्छन्, लाइसेन्स छाप्ने मेसिन नै बिग्रेको छ, उफ ! यसरि हरेक दिन कति मान्छेहरु यातायातको कार्यालय धाउंछन् अनि निराश भएर फर्किन्छन् l गेट भित्र प्रवेस गरेपछि अर्कै दुनियामा पुगेछु जस्तो लाग्छ l प्राय: ठुलै मेला लागिराखेको हुन्छ, तरकारी बजार जस्तै l जतासुकै अव्यवस्थित मान्छेको भिड l लाग्छ कि त्यो ठाउँमा कोरोना भाइरस मुक्त ठाउँ हो l सबैको मुखमा मास्क बाहेक अरु कुनै सुरक्षा प्रणाली अपनाएको देखिदैन l न त लाईन् बस्दा भौतिक दुरी नै कायम गरिएको छ न त त्यसको कुनै अनुगमन नै भएको छ l

सरकारले ल्याएको नयाँ प्रणाली, स्मार्ट लाइसेन्स सायद धेरै जनाको लागि सुबिधाजनक हुन्थ्यो होला तर जतिसुकै स्मार्ट भानिएता पनि लाइसेन्स पाउनको लागि उत्तिनै कठिन रहेछ l एउटा लाइसेन्स छाप्ने मेसिन पनि देशमा नभएको सुन्दा अचम्म लाग्छ l कहिले सम्म यो लाचारीपन, कहिले सम्म अर्काको मुख ताकेर बस्नु l

लाईनमा जति जनासंग भेट भयो, कुरा भयो, सबै जनाको मुखबाट प्राय सरकारी काम सन्तोषजनक नरहेको बताउंछन् l आफ्नो दैनिक कामकाज छोडेर घाम, पानी केहि नभनी लाईनमा घन्टौ उभिनु पर्ने बाध्यता, बिच-बिचमा बिचौलियाहरुको मिलेमतो l लाईनमा उभिने क्रममा एकजना दाईले भन्नु भयो- “म सुरुमा लाईन बस्न आउंदा खेरि पैन्ट लगाएर आएको थिए तर आज म हाल्फ़ पैन्टमा झरिसके, कति धाउनु, कति लाईनमा बस्नु, कहिले कता जाऊ भनेको छ, कहिले के गर भनेको छ l” अर्की दिदीले पनि आफ्नो गुनासो पोख्नु भयो – “दिन भरि लाईनमा उभिदा भोक लाग्छ, प्यास लाग्छ, खानु पर्यो, पिउनु पर्यो, खर्च माथि खर्च, म त वाक्कै भईसकें l” फेरी अर्को दाईले त्यसैमा थप्नु भयो- “यता गए’नि लाईन बस्नु, उता गए नि लाईन, हरे आधा जिन्दगी त यही लाईन बसेरै बित्ने भयो, कहिले सुध्रिने होला यो दुर्गति l”

हामी सरकारी कामको ढिलासुस्ती गराई प्रति आफ्नो क्रोध प्रकट गर्छौ, तर अर्को तिर हेर्दा हामी पनि कम छैनौ, लाईन मिच्न पाईयो भने ठुलै पराक्रम गरे सरह आफुलाई ठान्छौ l तर बिहानै देखि केहि पनि नखाई लाईनमा बसेको देख्दैनौं l सबैजनालाई हतार छ आफ्नो काम सकाउन, धैर्यताको परीक्षा दिदाँ-दिदै बाध फुटिसकेको छ l सायद यस्तै कारणहरुले गर्दा सेवाग्राहीहरु निरुत्साहित भएको l सबैमा वितृष्णा जागेको र बिचौलियाहरुलाई पैसा ख्वाउन बाध्य भएको l एक जना नयाँ सेवाग्राही त्यहाँ कारणबस गए भने काम कहाँ बाट सुरु गर्ने भनेर कोठा नम्बर खोज्दा खोज्दै उसको समय यत्तिकै खेर जान्छ l

सरल र छोटो समय लाग्ने कामलाई महिनौं लगाई दिंदा कसको मन विच्छिप्त नहोला र, कस्तो बिडम्बना ! सेवाग्राहीको चाप अनुसार कार्यप्रणाली सुध्रित र ब्यवस्थित गर्दै लानु पर्ने देखिन्छ तर कहिले हुन्छ त, अन्योल छ l बिगतलाई हेर्दा क्रमिक रुपमा सुधार भएको देखिन्छ l सूचना बोर्डहरु टाँसेको, कम्प्युटर प्रणालीबाट रेकर्डहरु राख्ने र जांच गर्ने, र भौतिक संरचनामा परिवर्तन भएको देखिन्छ l ठाउँ-ठाउँमा हेल्प-लाईनको स्टिकर टाँसेको देख्न सकिन्छ l तर कछुवा गतिमा भएको सुधार, कमजोर व्यवस्थापन र अस्तव्यस्त भिड देखिन्छन् सबैतिर l स्मार्ट लाइसेन्सको आबेदन भर्ने सेवालाई अनलाइन मार्फत भराउने व्यवस्था मिलाउन सकियो कोरोनको कहरबाट केहि हद सम्म बच्न सकिन्छ र दिगोरुपमा l त्यस्तै गरि स्मार्ट लाइसेन्सको आएको नतिजा मोबाइल मार्फत जानकारी दिन सकियो भने जनतालाई पनि धेरै राहत पुग्ने देखिन्छ र अनावस्यक भिड पनि कम हुन जान्छ l तसर्थ, दैनिक सरकारी कामकाज हुने ठाउँहरु जहाँ धेरै भिडभाड हुन्छन् त्यस्ता ठाउँहरुलाई व्यवस्थित गर्नुको साथै त्यसको डिजिटलीकरण गरि सेवा र सुबिधालाई छिटो र छरितो बनाउनुपर्ने देखिन्छ l अब पनि त्यहि पुरानै शैली अपनाउने हो भने यस कोरोना कहरको बेला झन् ठुलो विपति आउन  सक्छ l

Previous Older Entries

Earn Money by Playing!!!

Design a site like this with WordPress.com
Get started